चिकित्सा क्षेत्र भनेकै मानव सेवा, कल्याण र उपचारको पर्यायवाची हो

केही समयअघि नाकको सामान्य समस्याका कारण राजधानीको ओम अस्पतालमा उपचाररत बिरामीको चिकित्सकीय लापरबाहीका कारण मृत्यु भएको समाचार प्रकाशमा आएको थियो। त्यसो त आफ्नो पेशाप्रति इमान्दार, जिम्मेवार, कर्तव्यनिष्ठ र दक्ष चिकित्सकहरू पनि प्रशस्तै छन्। आफ्नो पेशाप्रति इमान्दार र मानवीय सेवाभावले ओतप्रोत भएका चिकित्सक एवं स्वास्थ्यकर्मीप्रति सम्मान प्रकट गर्दै चिकित्सा क्षेत्रमा भएका वा हुने गरेका त्रुटि कमीकमजोरी र सुधारको खाँचो रहेका अन्य विषयका बारेमा चर्चा गर्नु यस आलेखको उद्देश्य हो।
चिकित्सा क्षेत्र भनेकै मानव सेवा, कल्याण र उपचारको पर्यायवाची हो। स्वास्थ्य मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण विषय हो। यसर्थ, स्वास्थ्य क्षेत्रमा संलग्न चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीहरू सेवा, संवेदना र मानवीय भावनाले युक्त हुनुपर्दछ। मानवीय र सेवामुखी भावना यस क्षेत्रमा कार्य गर्न चाहने वा कार्य गरिरहेका स्वास्थ्यकर्मीमा हुनुपर्ने पहिलो र अनिवार्य शर्तका रूपमा लिइनुपर्छ। तर अपसोच! कतिपय चिकित्सक र स्वास्थ्य संस्थाका सञ्चालकमा सेवाभन्दा व्यापारमुखी भावना बढी भएका कारण स्वास्थ्य क्षेत्र नै सेवामुखी भन्दा व्यापारमुखी हुन पुगेको छ।
उदाहरणका लागि सरकारी अस्पतालमा कार्यरत चिकित्सकले बिरामीलाई पर्याप्त समय दिएर राम्रोसँग उपचार नगर्ने तर त्यही बिरामीलाई आफ्नो निजी अस्पतालमा समय दिएर राम्रोसँग जाँच गर्ने, सरकारी अस्पतालमा उपचार गर्दै गर्दा आफ्नो निजी अस्पतालमा आउन प्रेरित गर्ने जस्ता निकृष्ट व्यवहारहरू प्रशस्त भइरहेका छन्।
यसैगरी स्वास्थ्य सेवा संचालन गर्न आवश्यक पर्ने प्रमाणपत्र (लाइसेन्स) बिना प्राइभेट अस्पताल, नर्सिङ्ग होम संचालन गर्ने, लाइसेन्स बिनाका नक्कली चिकित्सकहरूद्वारा उपचार गर्ने गरेको घटनाहरू पनि हुने गरेका छन्। निजी अस्पतालहरूमा बिरामीको अवस्था सामान्य हुँदाहुँदै पनि विभिन्न थरिका अनावश्यक परीक्षण गर्न लगाएर बिरामीको टाउकामाथि झनै आर्थिक बोझ थपिदिने र सो परीक्षण गर्न सिफारिस गरे वापत चिकित्सकले कमिशन लिने गरेको समेत सुनिएको छ। अझ यतिसम्म कि शल्यक्रिया गर्नै नपर्ने सामान्य औषधिले ठिक हुने बिरामीलाई समेत आर्थिक प्रलोभनमा परी शल्यक्रिया गर्ने गैरजिम्मेवार व्यवहारसमेत देखिएको छ।

Comments