एसएलसी राम्रो अंकका साथ उत्तीर्ण गरेर चिकित्सक बन्ने लक्ष्य बोकेका कतिपय विद्यार्थीहरूद्वारा भविष्यमा के बन्ने भनेर संचार माध्यममा अन्तर्वार्ताका क्रममा सोधिँदा असल डाक्टर बनेर गरीब र दीन–दुःखी बिरामीको सेवा गर्ने भत्रे ती डाक्टरहरूले खोइ कहाँ गएर सेवा गरेका छन् अहिले?
वास्तविक दुःखी र गरिबलाई सेवा प्रदान गर्न ग्रामीण र दुर्गम भेगमा गएर बिरामीहरूको सेवा गर्नुपर्नेमा चिकित्सक बनेपछि आफ्नै पुरानो प्रतिबद्धता र पेशाले बोकेको आदर्श बिर्सेर सुविधाभोगी र शहर केन्द्रीत भएका छन्।
दुर्गम स्थानका अस्पताल, स्वास्थ्यचौकी भएका ठाउँहरूमा समेत चिकित्साकर्मीको अभावमा बिरामीले स्वास्थ्य उपचार पाउन सकेका छैनन् । काममा खटाइएका चिकित्साकर्मी दुर्गम स्थानमा नजाने र सहरमा रहेको निजी स्वास्थ्य संस्थामा अधिक लाभ लिएर काम गर्ने गरेको पाइन्छ। सकेसम्म सुविधा भोग्न खोज्नु, शहर केन्द्रीत हुनु मानवीय स्वभाव स्वाभाविक पनि हुन सक्ला तर थोरै समय भए पनि ग्रामीण भेगमा गएर दीनःदुखीको सेवा गरूँ भन्ने भावनासम्म नदेखिनु स्वास्थ्यकर्मीजस्तो जीवनरक्षाको पेशा अपनाउनेहरूका लागि स्वभाविक मान्न सकिँदैन।
चिकित्सकले बिरामीसँग गर्ने बोलीवचन, व्यवहार बिरामी र चिकित्सकबीचको सम्बन्धको मुख्य आयाम हो। चिकित्सकले गर्ने मिठो बोलीवचन र राम्रो व्यवहारले बिरामीमा धेरै सकारात्मक प्रभाव पार्दछ, आत्मबल जागृत हुन्छ, सकारात्मक सोचाई आई रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि हुन जान्छ। तर हामीकहाँ यस्ता कुराहरूमा चिकित्सकले त्यति ध्यान दिएको पाइँदैन। चिकित्सकले बिरामीको रोगको बारेमा विस्तृत जानकारी लिने, धैर्यपूर्वक बिरामीको कुरा सुन्ने अनि समय दिएर रोगको बारेमा परीक्षण गर्ने प्रवृति धेरै नै कम छ।
Comments
Post a Comment